सुधिर लोहनी
नेपाली राजनीति कहिल्यै
सिधा र सरल रहेन। यहाँ हरेक घटना केवल घटना हुँदैन, हरेक समय केवल समय हुँदैन, र हरेक संयोगभित्र कुनै न कुनै संकेत लुकेको हुन्छ।
कहिले ती संकेत तुरुन्त स्पष्ट देखिन्छन् त कहिले ढिलो अनि अस्पष्ट।
यता रवि लामिछाने जेलबाट बाहिर निस्किरहदा उता त्यही समय केपी शर्मा ओली फेरि
नेकपा (एमाले) को अध्यक्षमा निर्वाचित हुँदै गर्दा नेपाली राजनीतिमा यस्तै एउटा
क्षण देखियो। यी दुई दृश्यहरू अलग अलग भएता पनि, एकैदिन र एकै समयमा भएकाले यो घटनाले
आमरुपमा एउटै प्रश्न उब्जायो के यो केवल संयोग हो कि नेपाली सत्ताराजनीतिले आफैंलाई दोहोर्याउँदै
दिएको कुनै गहिरो सन्देश?
रवि लामिछानेको
राजनीतिक यात्रा असन्तुष्ट नागरिकको मनबाट जन्मिएको हो। सञ्चारको दुनियाँबाट
राजनीतिमा हाम फालेका उनी स्थापित शक्तिहरूका लागि केवल एउटा व्यक्ति थिएनन्, एउटा बेचैनी थिए। उनले बोलेका शब्दहरूमा व्यथिति
बदल्ने सपना थियो, र ती
सपनाहरूले हजारौँ युवाको मन मस्तिस्कमा आशाको किरण छरिदिएको थियो। तर जब उनी अचानक
जेल भित्र पुगे, त्यो
घटना कानुनी प्रक्रिया मात्र रहेन त्यो हजारौँ युवाको सपनामाथि लागेको चोट बन्यो।
सबैलाई लाग्यो अब उनि लामो समय जेलमा रहनेछन् यी पुराना शक्तिहरुले उनलाई अब कहिल्यै
शिर उठाउन दिने छैनन्। तर जब जेनजी आदोलन र तेसपछी विकसित घटना क्रमपछि उनी जसरी अपेक्षाकृत
छिट्टै रिहा भए, त्यो
केवल कानुनको निर्णय जस्तो देखिएन, त्यो राज्य र जनताको सम्बन्ध बिच एउटा संवेदनशील क्षण
बन्यो।
रवि लामिछाने बाहिर
निस्कँदा उनका समर्थकहरूको आँखामा केवल खुशी थिएन, एउटा प्रश्न पनि थियो के यो न्यायको विजय हो, कि जनदबाबको परिणाम? न्याय
कहिल्यै भावनाबाट चल्नु हुँदैन भनिन्छ, तर लोकतन्त्रमा न्याय जनविश्वासबाट पनि अलग रहन सक्दैन।
यही द्वन्द्वको बीचमा रविको रिहाइ उभिएको छ। न पूर्णतः शंका, न पूर्णतः सन्तोष बीचमै अल्झिएको एउटा क्षण।
उही समय, अर्को दृश्यमा केपी शर्मा ओली पुनः एमालेको अध्यक्षमा
विजयी भए। उनको जितमा कुनै उत्साह थिएन, त्यो त परिचित अनुहारको पुनरागमन थियो। ओली नेपाली
राजनीतिका ती पात्र हुन्, जसलाई
हटाइएको जस्तो देखिन्छ, तर
जो हरेकपटक कुनै न कुनै रूपमा फर्किन्छन्। यसपाली उनको जितमा भावनाभन्दा पनि संरचनाको
शक्ति देखियो। जहाँ संगठन बलियो हुन्छ, त्यहाँ परिवर्तनको चाहना पनि अनुशासित सीमाभित्र
बाँधिन्छ।
ओलीको विजयले देखायो आमरुपमा
पुराना दलहरुलाई अनिश्चितताभन्दा परिचित नेतृत्व सुरक्षित लाग्छ। गठबन्धनको थकान, निरन्तरको राजनीतिक अस्थिरता, र नेतृत्वप्रतिको भ्रमले थकित कार्यकर्ताले फेरि उही
अनुहार रोजे, जसलाई उनीहरू चिन्छन्, जसको भाषा कडा छ, तर जसको पकड संगठनमा अझै मजबुत छ। यो जित भावनात्मक
भन्दा पनि रणनीतिक थियो, विद्रोहभन्दा
पनि निरन्तरताको घोषणा थियो।
अब प्रश्न उठ्छ यी दुई
घटना एउटै समय किन? राजनीति क्यालेन्डर हेरेर चल्दैन भनिन्छ, तर सत्ता कहिल्यै समयप्रति लापरवाह हुँदैन। जब नयाँ
शक्तिको आवाज चर्किन्छ, त्यही
बेला पुरानो शक्ति आफ्नो उपस्थिति पुनः पुष्टि गर्न चाहन्छ। रवि लामिछानेको
रिहाइले नयाँ राजनीतिक चेतनालाई सास फेर्ने ठाउँ दियो, र ओलीको विजयले पुरानो संरचनाले अझै आफू जीवित रहेको
घोषणा गर्यो।
यो कुनै षड्यन्त्रको
कथा मात्र पनि होइन, न त
नाङ्गो संयोग मात्र। यो त नेपाली राज्य संरचनाको स्वभाव हो जहाँ परिवर्तनलाई
एकैचोटि अँगालिँदैन, विस्तारै
समायोजन गरिन्छ। नयाँलाई पूर्ण रूपमा दबाइँदैन, तर खुला मैदान पनि दिइँदैन। पुरानोलाई एकैपटक
विस्थापित गरिँदैन, तर
समय समयमा उसले आफूलाई प्रमाणित गरिरहनुपर्छ।
मिडिया र सामाजिक
सञ्जालले यी घटनालाई अझ भावुक बनाइदिए। रवि लामिछानेको हकमा खबरहरू केवल सूचना
थिएनन्, समर्थन र विरोधका लहर
थिए। ओलीको हकमा समाचारहरू संगठनको शक्ति र राजनीतिक गणनाको कथा। सायद यो सत्यभन्दा
बढी व्याख्या बिक्ने समय थियो।
र यसै बीच लोकतन्त्र
मौन भएर हेरिरहेको थियो। लोकतन्त्रको आत्मा व्यक्ति होइन, प्रक्रिया हो भनिन्छ। तर जब प्रक्रिया पारदर्शी
देखिँदैन, तब व्यक्ति नै
केन्द्रमा आउँछ। रविको रिहाइ कानुनी प्रक्रियाको उदाहरण बन्ने हो भने त्यसको
स्पष्टता जरुरी छ। ओलीको जित आन्तरिक लोकतन्त्रको उदाहरण बन्ने हो भने
प्रतिस्पर्धाको विश्वसनीयता देखिनुपर्छ।
शायद यही नै संकेत हो
नेपाली राजनीति अहिले संक्रमणकालमा छ। न पुरानो पूर्णत टिक्न सक्ने अवस्थामा छ, न नयाँले अझै प्रणाली कब्जा गर्न सकेको छ। यी दुई
धारबीच लोकतन्त्र हल्लिँदै अघि बढिरहेको छ।
रवि लामिछाने जेलबाट
बाहिर निस्कँदा केवल एउटा व्यक्ति मुक्त भएको हैन, एउटा प्रश्न मुक्त भएको हो के अब एकपटक फेरी वैकल्पिक
राजनीतिक शक्तिले पुरानालाई पुरै सक्काउनेछन्? र केपी
शर्मा ओली अध्यक्ष बन्दा केवल एउटा पद सुरक्षित भएको होइन, एउटा सन्देश दोहोरिएको हो पुरानो शक्ति अझै सजिलै
हट्दैन।
यसैले, यो संयोग मात्र होइन। यो नेपाली राजनीतिले आफैंलाई
हेर्ने ऐनाजस्तै हो। जहाँ हरेक परिवर्तनले अनुमति खोज्छ, र हरेक निरन्तरताले आफ्नो औचित्य प्रमाणित गर्नुपर्छ।
अन्तत, यो कथा रवि वा ओलीको मात्र होइन। यो हामी सबैको हो हाम्रो
विश्वास, हाम्रो शंका, र हाम्रो लोकतान्त्रिक यात्राको। यदि हामीले
प्रक्रिया बलियो बनाउन सकेनौँ भने, भोलि पनि यस्तै संयोगहरूलाई संकेत भनेर बुझिरहनेछौँ।
र यदि प्रक्रिया बलियो भयो भने, यिनै
संयोगहरू इतिहासका अर्थपूर्ण मोड बन्नेछन्।